काठमाडौं, मंसिर २१ :

भारतको तटीय क्षेत्र नर्थ गोवाको अर्पोरास्थित रोमेयो लेन नजिकै रहेको लोकप्रिय नाइटक्लब ‘बर्च’मा गएराति ठुलो विष्फोट हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।

प्रारम्भिक जानकारीअनुसार करिब ५० जना घाइते भएका छन् घाईतेहरुको  गोवा मेडिकल कलेजमा उपचार भइरहेको छ। अधिकारीहरूले जनाए अनुसार मृतकमध्ये ३–४ जना पर्यटक र १९ जना क्लबका कर्मचारी रहेका छन्।

घटना बिहान करिब १ बजे भएको हो। सुरुमा प्रहरीहरूले भान्साघर नजिक सिलिन्डर विस्फोटका कारण आगलागी भएको आशंका गरेका थिए ।  निरीक्षणका क्रममा सबै सिलिन्डर सुरक्षित अवस्थामा भेटिएका छन्।

अधिकारीहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि केही सेकेन्डमै सम्पूर्ण भवन आगोले ढाकिएको थियो जसका कारण भित्र रहेका मानिसहरूलाई भाग्न निकै कम समय मिल्यो।

घाइतेहरूको वास्तविक संख्या र अवस्थाबारे आधिकारिक विवरण आउन भने बाँकी छ।