
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले कर्जा लगानी तथा निक्षेप सङ्कलनमा उल्लेखनीय भूमिका निर्वाह गरेका ६७ वटा शाखा कार्यालयको ‘विजनेस मिट–२०८२’ सम्पन्न गरेको छ ।
चितवनको सौराहामा सम्पन्न सो कार्यक्रममा हालको बैंकिङ बजारको आवश्यकता पहिचान तथा बैंकको तर्फबाट निभाउनुपर्ने भूमिका सम्बन्धमा बृहत अन्तक्रिया गरिएको बैङ्कका सूचना अधिकारी एवं उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए ।
कार्यक्रममा बैंकका कर्मचारीको क्षमता अभिवृद्धि गर्दै हाल बैंकमा प्रचुर मात्रामा रहेको निक्षेपलाई गुणात्मक कर्जाको रुपमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा प्रत्येक शाखाद्वारा सम्भावित ग्राहकको अवस्था सहित आ–आफ्ना कार्ययोजना पेश गरिएको थियो ।
त्यस क्रममा बैङ्क सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले व्यवसाय विस्तार योजनामा विशेष महत्वका साथ लाग्न र क्षेत्रगत सम्भावनालाई सेमेटेर व्यवसाय योजना बनाउन निर्देशन दिएका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हालको निक्षेपलाई अवसरको रुपमा सदुपयोग गरी कसरी गुणात्मक कर्जा वृद्धिमा रुपान्तरण गर्ने र सेवा प्रवाहलाई चुस्त बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य हरिकुमार सिलवाल, उपकार्यकारी अधिकृत रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, नायव प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल र रामकुमार थापा, विभागीय प्रमुख, प्रादेशिक प्रबन्धकलगायत उपस्थित थिए।