काठमाण्डौँ , असोज १० :

एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।

लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको एक सय दुई मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादित एक सय ११ मेगावाट, माथिल्लो साञ्जेनको १४ दशमलव आठ मेगावाट र साञ्जेन जलविद्युत् आयोजनाको ४२ दशमलव पाँच मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले हिजो रसुवाका विभिन्न जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सबस्टेशनको स्थलगत निरीक्षण गर्दै निर्माण ढिला हुँदा दैनिक करोडौँ बराबरको नोक्सानी भएकाले तीव्र गतिमा निर्माण सम्पन्न गर्न निर्देशन समेत दिनुभयो । 

नुवाकोटको पैरे बेंसीमा निर्माण भएको त्रिशूली थ्री बी हब २२०/ १३२ /३३ केभी (३२० एमभिए) क्षमताको सवस्टेशन र रसुवाको आमाछोदिङ्मो गाउँपालिका- ४ स्थित थम्बुचेतमा निर्माण भएको चिलिमे हव २२०/ १३२/ ३३ केभी (३२० एमभिए) क्षमताको सवस्टेशन र २८ किलोमिटर चिलिमे- त्रिशूली २२० केभी प्रसारण लाइनको काम समयमा सम्पन्न नहुँदा उत्पादित विद्युत् खेर जाने अवस्था रहेको उहाँले बताउनुभयो । 

रसुवा र नुवाकोटका विभिन्न आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली थ्रीबी हब २२०/१३२/३३ केभी (३२० एमभिए) क्षमताको सबस्टेसनबाट उक्त जलविद्युत् काठमाडौँको मातातीर्थ सवस्टेशनमा पुर्‍याइनेछ ।   

मन्त्री खड्काले आवश्यक जनशक्ति थप गरेर भए पनि प्रसारण लाइन निर्माणलाई दुई हप्ताभित्र सम्पन्न गरी सम्बन्धित जलविद्युत् आयोजनाको टेस्टिङ कमिसनिङ समेत सम्पन्न गर्न निर्देशन दिनुभयो ।