
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले निजी क्षेत्र र सरकारबीच प्रभावकारी सहकार्य भए नेपालले वार्षिक ३० लाख पर्यटक भित्र्याउन सक्ने बताएका छन् ।
नेपालमञ्चको तेस्रो वार्षिकोत्सवका अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै थपलियाले हालको पूर्वाधार र क्षमताका आधारमा ३० लाख पर्यटक भित्र्याउनु असम्भव नरहेको स्पष्ट पारे ।
उनले हालैको ‘जेनजी आन्दोलन’ले पर्यटन क्षेत्रमा ठूलो असर पार्ने अनुमान गरिए पनि व्यवहारमा भने प्रभाव न्यून रहेको दाबी गरे । आन्दोलनका बेला देशभर अस्थिरता देखिँदा पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता भए पनि नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र र सञ्चार माध्यमको समन्वयका कारण एक हप्तामै पर्यटन क्षेत्रलाई लयमा फर्काउन सफल भएको उनले बताए ।
‘आन्दोलनका कारण इमेजका हिसाबले ठूलो क्षति भयो, तर तत्काल सामाजिक सञ्जालमार्फत सक्रिय भएर काम गर्यौं । निजी क्षेत्र र सञ्चार क्षेत्रको सहयोगले पर्यटनलाई छिट्टै पुनः लयमा ल्याउन सफल भयौं,’ उनले भने ।
थपलियाले कोभिड–१९ का कारण पर्यटन क्षेत्र लामो समयसम्म प्रभावित भए पनि हालको संकट तुलनात्मक रूपमा छिटो व्यवस्थापन गर्न सकिएको उल्लेख गरे । हाल नेपाल १२ लाख पर्यटक भित्र्याउने अवस्थामा पुगेको भन्दै उनले पर्यटन क्षेत्र संकटबाट माथि उठिसकेको बताए ।
‘१२ लाख पर्यटक भित्र्याउने लक्ष्यतर्फ अघि बढिरहेका छौं । सहकार्यका कारण राम्रो परिणाम आएको छ,’ उनले भने, ‘तर पर्यटन बोर्डले मात्र सबै गर्न सक्दैन । लगानीमैत्री वातावरण र बलियो कार्यक्रम सरकारले ल्याउनुपर्छ । २०२६ मा पर्यटन क्षेत्रमा फड्को मार्न निजी क्षेत्रको भूमिका निर्णायक हुन्छ ।’
उनले पर्यटन प्रवर्द्धनमा नेपालको आतिथ्य, संस्कृति र छविको ठूलो भूमिका रहेको उल्लेख गर्दै बोर्डले अन्तर्राष्ट्रिय स्तरमा देशको इमेज निर्माणमा निरन्तर काम गरिरहेको बताए । जेनजी आन्दोलनका क्रममा समेत पर्यटक बोकेको बसलाई अवरोध नगर्नु नेपाली संस्कृतिको उदाहरण भएको उनले बताए ।
लगानी र त्यसको फिर्ता सुनिश्चितता राज्यको दायित्व भएको उल्लेख गर्दै थपलियाले वितरणमुखी र कल्याणकारी राज्य निर्माण भए पर्यटन क्षेत्र अझ बलियो बन्ने धारणा राखे । युवालाई पर्यटन क्षेत्रमा आकर्षित गर्न विद्यालय तहदेखि नै पर्यटन शिक्षा र तालिमलाई संस्थागत गर्नुपर्नेमा उनले जोड दिए ।
उनका अनुसार नेपालमा वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार क्षमता भए पनि उड्डयन क्षेत्रका समस्या, सीमा नाकाका अवरोध, भन्सार झन्झट, कानुनी जटिलता र ट्रेकिङ रुट घट्नुजस्ता कारण पर्यटन विस्तारमा बाधा पुगेको छ ।
‘डाँडाकाँडामा सडक र बस्ती विस्तार हुँदा परम्परागत ट्रेकिङ रुट मासिए, जसले पर्यटक संख्या घटायो,’ उनले भने, ‘यस्ता समस्या समाधान गर्न सके कम्तीमा १५–२० लाख र सम्भवतः ३०–३५ लाख पर्यटक भित्र्याउन सकिन्छ । २०२६ मा एलडीसीबाट स्नातक भएपछि पर्यटन क्षेत्रमा फड्को मार्न बोल्ड निर्णय आवश्यक छ ।’