
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिरी जमानतमा रिहा भएका छन् । आवश्यक प्रमाण तत्काल प्राप्त नभएको र स्वास्थ्यसम्बन्धी कारणसमेत देखाउँदै सरकारी वकिलको कार्यालय, काठमाडौँले उनलाई धरौटीमा छाड्ने निर्णय गरेको हो ।
सरकारी वकिलको निर्णयपछि शेरचन हिरासतमुक्त भएका छन् । विशेष सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख मोहनकुमार बस्यालले अघिल्लो पटक म्याद थपका क्रममा विशेष अदालतको इजलासले माग गरेको थप प्रमाण तत्काल प्राप्त हुन नसकेको बताए । ‘अहिलेलाई ती प्रमाण उपलब्ध नभएकाले बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने देखियो,’ उनले भने, ‘स्वास्थ्यसम्बन्धी कारणसमेत भएकाले म्याद थपका लागि नपठाउने निर्णय गरिएको हो ।’
प्रहरीले सीईओ शेरचनसहित प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई गत मंसिर १४ गते विजुलीबजारस्थित बैंकको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो । घटनासम्बन्धी अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।