काठमाडौं, पुस ११ :

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनमा जानुको विकल्प नरहेको बताएका छन् । विशेष महाधिवेशन पक्षधरले बुझाएको स्मरणपत्र ग्रहण गर्दै उनले पार्टी विधान सबैका लागि बाध्यकारी भएको स्पष्ट पारे ।

महामन्त्री थापाले स्मरणपत्रबारे जारी कार्यसम्पादन समितिको बैठकमा जानकारी गराइने बताए । ‘पार्टीको विधानभन्दा माथि कोही छैन । विधान नमान्ने सुविधा कसैलाई छैन,’ उनले भने ।

विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित हस्ताक्षरसहित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार २९ असोजमा २ हजार ४८८ प्रतिनिधिको हस्ताक्षरसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै प्रस्ताव बुझाइएको थियो ।

केन्द्रीय कार्यालयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले स्मरणपत्र बुझेका हुन् । प्रतिक्रिया दिँदै थापाले विशेष महाधिवेशन अब केन्द्रीय कार्यसमितिको अनिवार्य जिम्मेवारी भएको बताए । ‘यो ऐच्छिक विषय रहेन,’ उनले भने ।

महामन्त्री विश्वप्रकाश शर्माले पनि विधान कार्यान्वयन गर्नु महामन्त्रीको कर्तव्य भएको उल्लेख गर्दै कार्यसम्पादन समितिले उपयुक्त निर्णय गरेर अघि बढ्नुपर्ने बताए ।