काठमाडौं, पुस १३ :

निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारीका बारेमा सुरक्षा निकायसँग जानकारी लिएको छ ।

आइतबार आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा आयोगले निर्वाचनको सुरक्षाको विषयमा जानकारी लिएको हो । बैठकमा राष्ट्रियसभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि भइरहेको तयारीका बारेमा सवै सुरक्षा निकायले जानकारी गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको आइतबारको बैठक राष्ट्रियसभा निर्वाचनको सुरक्षामात्रै केन्द्रीत रहेको उनले बताए ।

त्यस्तै प्रवक्ता भट्टराईले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरोकारवाला लगाएतको सुझावका आधारमा आचारसंहिता स्वीकृत गरेको जानकारी दिए । आचारसंहिता लागु हुने मिति भने केही दिनमा सार्वजनिक गरिने उनको भनाइ छ । उनले आचारसंहितालाई सवैले पालना गरेर निष्पक्ष, स्वच्छ, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राखे ।

आचारसंहितामा राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका उम्मेदवारको संख्याका आधारमा दलहरु खर्चको सीमामा रहनुपर्ने पनि आचारसंहीतामा उल्लेख छ । दल, उम्मेदवार र पार्टीका नेता कार्यकर्ताले विदेशी नम्बरप्लेटको सवारी प्रयोग गर्न नपाउने, एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न नपाउने लगाएतका विषय आचारसंहितामा उल्लेख गरिएको छ ।