काठमाडौं, पुस २१ :

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई टीकापुर घटनामा आममाफी दिने सरकारी निर्णयको फाइल सर्वोच्च अदालतले झिकाएको छ।

न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको सोमबारको इजलासले यस्तो आदेश दिएको हो ।आममाफीविरुद्ध  टीकापुर घटनामा ज्यान गुमाउने इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले रिट दायर गरेकी थिइन् । 

टीकापुर घटनामा तीनै तहको अदालतले चौधरीलाई दोषी ठहर गरेको थियो। तर,चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि २०८० जेठ १५ गते कारागारबाट रिहा भएका थिए। उनले कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका चौधरीलाई रिहा गर्न संविधानसम्मत नभएको जिकिर गरेकी थिइन्।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहट, थारुवान संघर्ष समितिको आन्दोलन हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो।