
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार ४५ औं विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा शहरी विकास मन्त्री समेत रहनुभएका उहाँले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्याइरहेको योगदानको प्रशंसा गर्नुभयो ।
उहाँले सन्तोषजनक अवस्था भने नरहेको भन्दै आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने पनि बताउनुभयो ।
कुल गार्हस्थ उत्पादनमा यो क्षेत्रबाट भइरहेको योगदान अझ कसरी बढाउन सकिने उल्लेख गर्दै उहाँले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
पर्यटन क्षेत्रमा काम गर्दा परेको अप्ठ्यारो पहिचान गरेर हटाएर सहज रुपमा व्यवसाय गर्नसक्ने अवस्था सरकारले बनाउने बताउनुभयो ।
उहाँले नेपाल साहसिक पर्यटन, ट्रेकिङ, हिमाल आरोहण, स्काई ड्राइभिङका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको भन्दै यसमा के गर्दा राम्रो हुन्छ त्यसमा लाग्नुपर्ने बताउनुभयो ।
पर्यटन क्षेत्रमा सक्रिय निजी क्षेत्रले आफ्नो व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था बनाउनका लागि सरकारले ध्यान दिने पनि उहाँले बताउनुभयो ।
शहरी विकास मन्त्रीसमेत रहनुभएका सिंहले देशमा परिवारसँगै बसेर आर्थिक जीवन उकास्ने वातावरण बनाउन सरकार लागिरहेको पनि बताउनुभयो ।