आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सरकारले आजबाट निर्वाचन प्रहरीका लागि दरखास्त खुलाएको छ । दरखास्त बुझाउन तोकिएका विभिन्न स्थानमा विहानैदेखि लाइन लागेको छ ।
बेरोजगारी समस्याका कारणले हो या निर्वाचन प्रहरी बन्ने रहरका कारण सयौ युवायुवती लाइनमा बसेको देखिन्छ।यसपटक निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गरिँदैछ ।
आजबाट दर्खास्त लिने क्रम सुरु भएको हो र यो क्रम आगामी माघ १ गतेसम्म जारी रहने जनाइएको छ । बिदाको दिन पनि दर्खास्त लिइने सूचनामा उल्लेख छ ।काठमाडौं उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुरका सबै जिल्ला प्रहरी कार्यालयबाट दर्खास्त दिन सकिन्छ ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले जारी गरेको सूचना अनुसार निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मी एवं पूर्ववन रक्षक, पछिल्लोपटक विभिन्न सुरक्षा निकायको भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता दिइने उल्लेख छ । यसका साथै, यसअघि म्यादी प्रहरीका रुपमा काम गरेका व्यक्ति र विदेशी राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकले पनि प्राथमिकता पाउनेछन् ।