काठमाडौं, पुस २८ :

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन एक दिन लम्बिने भएको छ। दुई महामन्त्रीका प्रतिवेदनमाथि घनिभूत छलफल जारी रहेकाले महाधिवेशन मंगलबारसम्म सञ्चालन हुने विशेष महाधिवेशन प्रचार–प्रसार उपसमितिका सदस्य–सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिए।

उनका अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनमाथिको छलफल टुंगिएपछि मात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढाइनेछ। नेतृत्व चयन  मंगलबार नै हुने उनले बताए।

यसअघि विशेष महाधिवेशन २७ र २८ गते दुई दिनका लागि तय गरिएको थियो। भृकुटीमण्डपमा जारी बन्दसत्रमा महामन्त्रीद्वयका प्रतिवेदनमाथि प्रतिनिधिहरूले धारणा राखिरहेका छन्। बन्दसत्रमा आज सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर छलफल भइरहेको छ ।