काठमाडौं, माघ ७ :

प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको अवस्था बहुआयामिक, जटिल र चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

उनले बहुपक्षीय संस्थाको कमजोर र स्वास्र्थ केन्द्रित गठबन्धनको बढ्दो प्रभाव, सूचना प्रविधिको व्यापक प्रयोग र दुरूपयोग, साना–राष्ट्रको घट्दो निर्णय क्षमताका कारण पनि राष्ट्रिय सुरक्षामा चुनौती थपिएको बताए ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिद्वारा आज यहाँ आयोजित ‘नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र समृद्धिमा प्रतिरक्षा विश्वविद्यालय’को भूमिका विषय कार्यक्रममा प्रधानसेनापति सिग्देलले राष्ट्रिय सुरक्षाको आयाम, क्षेत्र, अभ्यासमा सरोकारवालाबीच साझा सोच र धारणा आवश्यक रहेको बताए ।

उनले भने, 'नेपालको भू–राजनीतिक अवस्थित, तरल राजनीतिक अवस्था, विभिन्न समूह तथा सङ्घसंस्थाका गतिविधि, बसाइँसराइ, वैदेशिक रोजगारमा निर्भरता, घट्दो कृषि तथा बढ्दो आयातले आर्थिक तथा सामाजिक सुरक्षामा थप जटिलता उत्पन्न भइरहेको छ ।'

उनले जटिल र बहुआयामिक सामाजिक वातावरणमा बाह्य तथा आन्तरिक सुरक्षा पर्नसक्ने प्रभावको गहन विश्लेषण गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक दृष्टिकोणसहित प्रभावकारी राष्ट्रिय सुरक्षाको व्यवस्था जानु आजको अपरिहार्यता रहेको बताए ।

प्रधानसेनापति सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्यशक्तिका समयन्त्रको समन्वयात्मक उपयोग र प्रयोगबाट राष्ट्रियहितको जर्गेना गर्नु हो भने । उनले भने, 'हालको विश्वपरिवेशमा राष्ट्रिय सुरक्षा र प्रतिरक्षा केबल परम्परागत सैनिक सुरक्षामा मात्र सीमित नरही सामाजिक स्थायित्व, सुशासन, आर्थिक समृद्धि, बलियो कूटनीतिक, सफल सूचना संयन्त्र, प्रविधिको उपयोग एवं राष्ट्रियहितसँग सरोकार राख्ने सबै विषयसँग जोडिएको छ ।'

बहुसाँस्कृतिक समाजमा पारम्परिक सम्बन्ध, आपसी सहिष्णुता र एकता कायम गर्दै राष्ट्रिय सुरक्षालाई बलियो तुल्याउनुपर्ने बताउँदै प्रधानसेनापति सिग्देलले भने, 'राष्ट्रिय सुरक्षा नीतिमा आधारित रही नेपालका सबै सम्बद्ध निकायलाई सबल, सक्षम र सुदृढ बनाउन तथा आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको समयमा नै पहिचान र विश्लेषण गरी प्रतिरक्षा, आन्तरिक सुरक्षा, सार्वजनिक सुरक्षा, परराष्ट्र र अर्थनीतिमा सामाञ्जस्यता ल्याएर सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छ ।'

नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वतन्त्रता पुर्खाको दूरदृष्टि, राष्ट्रपतिको समर्पण र बलिदानबाट मात्र सम्भव भएको बताउँदै उनले वर्तमान पुस्तामा  नेपालको इतिहास र परम्पराको ज्ञानबाट राष्ट्रभक्तिको भावना विकास जागृत तुल्याउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

उनले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षाका सम्बन्धमा सबै सरोकारवाला निकाय र नागरिकमा साझा बुझाइको आवश्यकता महसुस गरी राष्ट्रिय विश्वविद्यालयको स्थापना र सञ्चालन अघि बढाइएको स्पष्ट पारे।

प्रधानसेनापति सिग्देलले भने, 'भविष्यमा आइपर्नसक्ने बहुआयामिक चुनौतीलाई सामान गर्न राजनीतिक तहमा सोच्नसक्ने, अन्तरनिकायबीचको समन्वय र राष्ट्रियहितलाई केन्द्रमा राखेर रणनीतिक तहको नेतृत्व उत्पादन र विकास गर्न  राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय एक महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ ।'