काठमाडौं, माघ १५ :

नेपाल प्रहरीले रातको समयमा गरगहना र नगद लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त स्वयम्भू, प्रहरी वृत्त गौशाला र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई काठमाडौं विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबारराति प्रहरीले काठमाडौँको मूलपानीमा गोली हानेर मुख्य योजनाकारसहितलार्ई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बिनय तामाङ, आयन माझी, मनिस रसाईली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजिव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ रहेका छन् । 

विनय तामाङ गरगहना र नगद लुटपाट गर्ने गिरोहको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सवै आपराधिक पृष्ठभूमिका रहेको र दिनको समयमा ट्याक्सि चलाउने र राति लुटपाटमा संलग्न हुने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए । पक्राउ परेका गिरोहहरु जनेजी आन्दोलनपछि लुटपाटमा सक्रिय रहेका देखिएको उनले बताए ।

पक्राउ परेका व्यक्तिहरुबाट लुटपाटमा प्रयोग गरिएका एउटा निजी कार, एउटा ट्याक्सी र ६ वटा मोटरसाइकल समेत बरामद गरेको छ । गरगहना र नगद लुटपाटका घटनामा हालसम्म २७ जना पीडित प्रहरी सम्पर्कमा आएको र जाहेरी दरखास्त प्राप्त भएको प्रहरीले जनाएको छ ।

 त्यस्तै काठमाडौं प्रहरीले ३३ किलो सुन प्रकरणमा सनम शाक्यको अपहरण शरीर बन्धक तथा ज्यान सम्बन्धी कसुरका फरार प्रतिवादी सुरेन्द्र गौतमलाई पक्राउ गरिएको जनाएको छ ।