काठामडौं, माघ २० :

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ मा दर्ता नवीकरण नगरी सञ्चालन गरिएका किराना पसल, डेरी तथा होटलहरूमा म्याद गुज्रिएका र सडेगलेका खाद्य सामग्री बिक्री भइरहेको पाइएको छ। नगरपालिकाको नियमित अनुगमन टोलीले आज मङ्गलबार गरेको अनुगमनमा यस्तो अवस्था फेला परेको हो।

अनुगमनका क्रममा एक दर्जनभन्दा बढी किराना पसल, डेरी, मासु पसल तथा होटलहरू निरीक्षण गर्दा इ.जी. स्टोर, निरज स्टोर र आइ.एल. स्टोरलगायतका पसलहरू दर्ता नवीकरण बिना सञ्चालन गरिएको र म्याद गुज्रिएका खाद्य सामग्री बिक्री भइरहेको पाइएको नगरपालिकाले जनाएको छ। ती पसलहरूबाट म्याद गुज्रिएका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ।

यसैगरी दक्षिणकाली डेरी र शुभ लक्ष्मी दूध डेरी पनि दर्ता नवीकरण नगरी सञ्चालन गरिएको र फोहोर अवस्थामा सडेगलेको दूध तथा दही बिक्री भइरहेको पाइएको छ। ती डेरीहरूबाट करिब १७ लिटर दूध तथा दही बरामद गरी नष्ट गरिएको छ। सम्बन्धित व्यवसायीहरूलाई तीन दिनभित्र दर्ता नवीकरण गर्न निर्देशन दिइएको छ।

अनुगमनका क्रममा केही व्यापारीहरूले डेरीको नाममा पसल दर्ता गरी फलफूल, चिया तथा सूर्तीजन्य पदार्थसमेत बिक्री गरिरहेको पाइएको छ भने केही होटलहरू पनि फोहोर तथा अस्वस्थ तरिकाले सञ्चालन भइरहेको भेटिएको छ।

यस्ता अस्वस्थ तथा लापरबाही पूर्ण तरिकाले खाद्य सामग्रीको बिक्री हुँदा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकोले आगामी दिनमा यस्ता गतिविधि दोहोरिए कडाभन्दा कडा कारबाही गरिने वडाध्यक्ष विजय श्रेष्ठले चेतावनी दिए । 

अनुगमन टोलीका अनुसार यस्ता अस्वस्थ र लापरबाहीपूर्ण तरिकाले खाद्य सामग्री बिक्री हुँदा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले आगामी दिनमा अनुगमनलाई अझ कडाइका साथ निरन्तरता दिइनेछ।