काठमाडौं, माघ २२ :

नेपालको राजनीतिक बहसमा आज ‘झोले’ शब्द पहिचान बनेको छ। यो शब्द कुनै दल विशेषका कार्यकर्ता वा समर्थकका लागि मात्र प्रयोग हुँदैन, यसले एउटा गम्भीर राजनीतिक रोगलाई जनाउँछ। झोले हुनुको अर्थ हो गलत देख्दा पनि आँखा चिम्लिनु, अन्याय हुँदा पनि ताली बजाउनु र भ्रष्टाचारलाई पनि रणनीति भन्दै ठहर गर्नु। यहीँ झोले मानसिकताले आज नेपालको राजनीति जकडिएको छ र यहीँ कारण देश वर्षौँदेखि उहीँ दलदलमा फसेको छ।

लोकतन्त्रको मूल आत्मा प्रश्न हो। तर नेपालमा प्रश्न गर्ने संस्कृतिलाई योजनाबद्ध रूपमा दबाइएको छ। यहाँ नेता प्रश्नभन्दा माथि राखिन्छन् र पार्टी विचारभन्दा ठुलो मानिन्छ। जब कुनै नेता असफल हुन्छ, झोलेहरू तुरुन्तै सक्रिय हुन्छन् । कहिले विदेशी षड्यन्त्र, कहिले परिस्थिति, कहिले विपक्षीको दोष देखाएर आफ्ना नेताको बचाउ गर्छन्। नेतृत्वले जे गरे पनि सही ठहर गर्ने यो प्रवृत्तिले नेताहरूलाई उत्तरदायी होइन, अहंकारी बनाएको छ।

झोलेपनको सबैभन्दा खतरनाक पक्ष भनेको गलतलाई सामान्य बनाउनु हो। भ्रष्टाचार काण्ड सार्वजनिक हुँदा पनि सबै पार्टी उस्तै हुन्, अरूले झन् धेरै लुटेका थिए भन्ने तर्क सुनिन्छ। यो तर्क होइन, आत्मसमर्पण हो। यसले स्पष्ट सन्देश दिन्छ, लुटे पनि हुन्छ, गलत गरे पनि हुन्छ, किनकि झोलेहरू बचाउ गर्न तयार छन्। यहीँ कारण आज ठुला भ्रष्टाचार काण्डहरू पनि केही समयको हल्ला बनेर सेलाउँछन्, दोषीहरू कारबाहीको साटो अझ शक्तिशाली बन्छन्।

नेपाली राजनीतिमा झोले संस्कृति बिना नेतृत्व टिक्नै नसक्ने अवस्थामा पुगेको छ। पार्टीभित्र आन्तरिक लोकतन्त्र छैन, निर्णय केही सीमित व्यक्तिले गर्छन्, तर ताली बजाउने भीड ठुलो छ। झोलेहरू आलोचकलाई दल विरोधी, एजेन्ट वा देशद्रोही घोषणा गर्छन्। यसले स्वस्थ बहसलाई समाप्त पार्छ र राजनीति भिडतन्त्रमा रूपान्तरण हुन्छ, जहाँ सत्य होइन, संख्या बलियो हुन्छ।

युवापुस्तालाई परिवर्तनको संवाहक मानिन्छ, तर आजको यथार्थ झनै पीडादायी छ। ठुलो संख्यामा युवा राजनीतिक झोलामा बाँधिएका छन्। प्रश्न गर्ने ऊर्जा नाराबाजीमा सीमित छ, बहस गर्ने क्षमता गालीमा रूपान्तरण भएको छ। नेता गलत हुँदा पनि हाम्रो नेता हो भन्ने तर्कले युवालाई विवेक होइन, भक्ति सिकाइँदैछ। यस्तो पुस्ताबाट परिवर्तनको अपेक्षा गर्नु आत्मछल हो।

झोलेपनले देशको भविष्यसँग प्रत्यक्ष खेलवाड गरिरहेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत विषयमा राज्य असफल हुँदा पनि प्राथमिकता सत्ता समीकरणमै सीमित छ। विकासका नाममा भाषण हुन्छ, तर परिणाम शून्य। झोलेहरू भने हरेक असफलतालाई पनि इतिहासकै उत्कृष्ट उपलब्धि भनेर प्रचार गर्छन्। यसले नेतृत्वलाई सुधारको दबाब होइन, ढाकछोपको सुविधा दिन्छ।

लोकतन्त्र समर्थक हुनु र झोले हुनु एउटै कुरा होइन। लोकतन्त्र समर्थकले आफ्नो दललाई पनि प्रश्न गर्छ, नेतृत्वलाई पनि जवाफदेही बनाउँछ। तर झोलेहरूका लागि दल नै धर्म हो, नेता नै भगवान् हो। भगवान् प्रश्नभन्दा माथि हुन्छन् भन्ने सोचले नै नेपालमा राजनीतिक उत्तरदायित्व मरेको छ। चुनाव केवल अनुहार फेरिने प्रक्रिया बनेको छ, प्रणाली सुधार्ने माध्यम होइन।

झोलेपन केवल राजनीतिक दलले जन्माएको समस्या होइन, यो नागरिक चेतनाको असफलता पनि हो। नागरिकले जब विवेक छोडेर भावनामा मत हाल्छ, तब झोले उत्पादन हुन्छ। सामाजिक सञ्जालमा फैलिने अफवाह, अधूरा तथ्य र भावनात्मक नाराले झोलेपनलाई झनै बलियो बनाएको छ। सत्यभन्दा ठुलो आवाज र तथ्यभन्दा ठुलो भीड भएको समाजमा लोकतन्त्र कमजोर हुनु स्वाभाविक हो।

अब प्रश्न उठ्छ – समाधान के हो ? समाधान कुनै नयाँ दल, नयाँ नेता वा नयाँ नारा मात्र होइन। समाधान हो – झोले मानसिकताको अन्त्य। नागरिकले दलभन्दा देशलाई, नेताभन्दा सिद्धान्तलाई र नाराभन्दा परिणामलाई प्राथमिकता दिनुपर्छ। आफ्नो मनपर्ने दलले गलत गर्दा खुलेर भन्न सक्ने साहस नै वास्तविक नागरिक हो।

झोले नहुनु भनेको तटस्थ बस्नु होइन। यो जिम्मेवार राजनीतिक सहभागिता हो। गलतलाई गलत भन्न सक्ने, सहीलाई सही भन्न सक्ने र आवश्यक परे आफ्नै धारणा परिवर्तन गर्न सक्ने क्षमता नै लोकतन्त्रको मेरुदण्ड हो। आलोचना शत्रुता होइन, सुधारको पहिलो सर्त हो भन्ने बुझाइ स्थापित नगरी नेपालमा कुनै परिवर्तन सम्भव छैन।

अन्ततः झोले हुनुको अर्थ गलतलाई पनि सही भनेर हिँड्नु हो भने, सचेत नागरिक हुनुको अर्थ सत्तालाई आँखा जुधाएर प्रश्न गर्नु हो। देशलाई झोले होइन, विवेकशील नागरिक चाहिएको छ। जबसम्म नागरिक झोलाबाट बाहिर निस्कँदैनन्, तबसम्म नेता सुध्रिँदैनन्। र जबसम्म नेता सुध्रिँदैनन्, तबसम्म देशले नयाँ दिशा पाउँदैन। आजको लडाइँ दलबिच होइन, विवेक र अन्धभक्तिबीच हो। यो लडाइँ जित्न सके मात्र नेपालले साँच्चिकै परिवर्तनको बाटो समाउन सक्छ।