
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
बैतडीको पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी–७ बडगाउँ मोडमा आज बेलुकी ८ बजेतिर दुर्घटनामा परेको हो ।
मृत्यु हुनेहरूमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेश राज जोशी रहेका छन् ।
यस्तै बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी गाउँपालिका–७ का ४० वर्षीय बसन्त राज रतला र बैतडीको पुर्चौली नगरपालिका–७ का पुष्पा अवस्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा एक महिला र सात पुरूष रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
उनले भने, “आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकमा एक महिला र सात पुरुष छन् ।” दुर्घटनामा परेर घाइते भएका ४५ जनाको उद्धार गरेर स्थानीय स्वास्थ्य चौकी पठाइएको उनले बताए । उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने बताइएको छ ।