
गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको सात दिने भाषण तथा उद्घोषण तालिम मंगलबार सम्पन्न भएको छ। नगरपालिकाले महिलाहरूको क्षमता अभिवृद्धि र आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको उक्त तालिममा आरुबारी महिला समूहका ३५ जना महिलाहरूको सहभागिता रहेको थियो।
तालिम समापन समारोहका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले महिलाहरूलाई सीपमूलक तालिममार्फत आयआर्जनतर्फ उन्मुख गराउने कार्यमा नगरपालिका सदैव प्रतिबद्ध रहेको बताए। उनले महिलाहरूलाई सशक्त बनाउने विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिँदै आएको उल्लेख गर्दै सीप, क्षमता र आत्मविश्वास विकास नै समृद्धिको आधार भएको धारणा व्यक्त गरे।
मेयर रिसालले नगरभित्र रहेका विभिन्न समूहहरूलाई जागरूक बनाउने उद्देश्यले नगरपालिका योजनाबद्ध रूपमा अघि बढिरहेको समेत जानकारी दिए। उनले युवा लक्षित रोजगारमूलक कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएको चर्चा गर्दै स्थानीय स्रोत, साधन र सीपको सदुपयोगमार्फत आत्मनिर्भर समाज निर्माण गर्न नगरपालिका दत्तचित्त भएर लागिरहेको स्पष्ट पारे। आगामी दिनहरूमा पनि यस्ता क्षमता विकास तथा सीपमूलक तालिमलाई निरन्तरता दिइने उनको भनाइ थियो।
यसैगरी, वडा नं. ९ का अध्यक्ष राजीव थापाले वडास्तरमा समय–समयमा विभिन्न किसिमका सीपमूलक तालिम तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए। यस्ता कार्यक्रमहरूले स्थानीय नागरिकमा आत्मविश्वास, जाँगर र सक्रियता बढाएको उनको भनाइ थियो। उनले विशेषगरी महिलाहरूको नेतृत्व विकास र सार्वजनिक बोल्ने कला अभिवृद्धिमा यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
सहभागी महिलाहरूले तालिमले सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास बढाएको, कार्यक्रम सञ्चालन तथा नेतृत्व गर्न सहज बनाएको प्रतिक्रिया दिएका छन्। समापन कार्यक्रममा वडा नं. ९ का वडा सदस्यहरू, महिला अगुवाहरू तथा स्थानीय सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।
नगरपालिकाले आगामी दिनमा पनि महिला, युवा तथा लक्षित वर्गलाई केन्द्रमा राखी क्षमता विकास, आयआर्जन तथा सशक्तीकरणसम्बन्धी कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।