काठमाडौं, फागुन ८ :

नेकपा (एमाले)ले दाङमा आफ्नो झण्डा जलाउनेलाई गत भदौ २४ गते आगजनी र तोडफोड गर्नेहरू नै रहेको जिकिर गरेको छ। एमाले आम निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी झण्डा जलाउने कार्यले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै झण्डा जलाउनेहरूलाई कारबाही गर्न माग गरेका छन्। रास्वपाले आफ्नो झण्डा जलाएको एमालेको आरोप छ।

एमालेले आफ्नो झण्डा जलाउनेलाई गत भदौ २४ गते आगजनी र तोडफोड गर्नेहरू नै रहेको जिकिर गरेको छ। ‘लाखौँ जनतामा लोकप्रिय हाम्रो पार्टीको आस्थामा चोट पुर्‍याउने गरी सूर्य चिह्न अंकित झण्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन्’ विज्ञिप्तमा भनिएको छ।

एमालेले भनेको छ,‘अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दहरूका नाराबाजीसहित महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य हो।’
यसैबीच, रास्वपाले नेकपा एमालेको झण्डा जलाउने कार्यमा संलग्न नरहेको जनाएको छ। रास्वपा दाङका सभापति विनय घिमिरेले शुक्रबार विज्ञप्ति जारी गर्दै एमालेको झण्डा जलाउने कार्यमा पार्टीको संलग्नता नरहेको बताएका हुन्। घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न रास्वपाले माग गरेको छ।