
साहित्यकार सरिता शैलीद्वारा लिखित कृति ‘पहिलो प्रेम’ को लोकार्पण गरिएको छ । बिहीबार लेखक कुन्जको आयोजनामा उक्त कृतिको वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवस, शिक्षाविद् तथा वरिष्ठ साहित्यकार डा. रामप्रसाद दाहाल र साहित्यकार राजकुमार बानियाँले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।
सो अवसरमा बोल्दै तुलसी दिवसले कवितात्मक शैलीमा ‘प्रेम’ शब्दका विविध आयामबारे चर्चा गरे। उनले पहिलो प्रेम सार्वजनिक भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सिर्जनाका नयाँ–नयाँ आयामहरू प्रस्तुत भइरहून् भन्ने शुभकामना व्यक्त गरे। “पहिलो प्रेम नै अन्तिम नहोस्,” उनको शुभकामना थियो।
डा. रामप्रसाद दाहालले कृतिमार्फत लेखिकाले शब्दभित्रको प्रेमलाई अभिव्यक्त गर्दै आफ्ना अतीतका अनुभूति र समाजका जटिल पक्षहरूलाई उजागर गर्ने प्रयास गरेको उल्लेख गरे। उनले कृतिले सफलता हासिल गरोस् भन्ने शुभकामना व्यक्त गरे।
कृतिमाथि टिप्पणी गर्दै राजकुमार बानियाँले पुस्तकभित्र कथा, कविता, अनुभव, दुःख र सुखका विविध पक्ष समेटिएको बताए। लेखन नै लेखिकाको घनिष्ठ साथी बनेको उल्लेख गर्दै उनले कृतिलाई ‘स्वादिलो खिचडी’ को संज्ञा दिए।
लेखिका सरिता शैलीले आफ्नो लेखन यात्रामा आफू स्वयं नै आफ्नो साथी बनेको चर्चा गरिन्। उनले पहिलो प्रेम लाई आफ्नो पहिलो सन्तानसरह मानेको बताइन् ।
कार्यक्रममा लेखक कुन्जका अध्यक्ष कमल ढकाल, अभिलाषा शर्मा लगायत विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको प्रारम्भमा कृतिभित्र समेटिएको एक अंशमा आधारित नाटिका प्रस्तुत गरिएको थियो। कलाकारहरूले कारुणिक भाव झल्काउने अभिनयमार्फत कृतिको भावनात्मक गहिराइ र महत्त्वलाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए।