काठमाडौं, फागुन १५ :

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्ष होली पर्वमा मञ्च बनाएर सांगीतिक कार्यक्रम र मेला महोत्सव आयोजना गर्न रोक लगाएको छ । साथै होली पर्वलाई लक्षित गरी निर्वाचन चिह्न वा उम्मेदवारका तस्वीर अंकित भेष्ट, टिसर्ट, कमिज, गम्छा लगायतका कपडाहरु प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।

होली पर्व मनाउने नाममा कसैले चुनाव प्रचारको रुपमा उपयोग गर्न सक्ने भन्दै प्रशासनले कडाइ गरेको हो ।जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले  निर्वाचनको सुरक्षाका कारण यो निर्णय गरिएको जानकारी दिए ।

उनले जारी गरेको सूचनामा निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि नगर्न/नगराउन समेत सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध गरिएको छ । होली पर्वलाई मर्यादित बनाउने उद्देश्यले कसैको इच्छा विपरीत रंग अबिर दल्न वा लोला हान्न पनि रोक लगाइएको छ ।