
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मेचीनगर नगरपालिका–९ स्थित कविशिरोमणि माध्यमिक विद्यालयको मतदानस्थलको ‘च’ केन्द्रमा मतदान गरेका छन् ।
यो निर्वाचन क्षेत्रमा एक लाख ३१ हजार ६७ जना मतदाता कायम छन् ।
निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४५ वटा मतदानस्थल र १४५ वटा मतदान केन्द्र कायम छन् ।
झापाका पाँच निर्वाचन क्षेत्रमा सात लाख १३ हजार ५३७ जना मतदाता छन् । यहाँ ९० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
उनले सबैलाई मतदान गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘बिहानै मतदान गरियो । यो लोकतन्त्रको सबैभन्दा सुन्दर अभ्यास हो । म अपेक्षा गर्दछु यो अभ्यासमा जति पनि मतदाता हुनुहुन्छ सम्भव भएसम्म आफ्नो विवेकलाई प्रयोग गर्नुहुनेछ । आवेगमुक्त भएर मतदाताले अबको देशको समाधानका लागि आफ्नो निर्णय दिनुहुनेछ ।’
कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति शर्माले पार्टीको माहोल राम्रो रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘म नेपाली कांग्रेस पार्टीको एउटा प्रतिनिधिको रूपमा अहिले मतदान गरिरहँदै गर्दा निश्चय नै नेपाली कांग्रेस पार्टीको चुनाव चिन्ह रूखमा मतदान गरेको छु । र अपेक्षा गर्दछु नेपाली कांग्रेस पार्टी सबैभन्दा ठूलो दलका रुपमा निर्वाचनबाट विजयी हुँदैछ ।’
कांग्रेसको माहोलबारे उनले थप भने, ‘निर्वाचन अभियानका क्रममा करिब ४०(४५ जिल्ला सातै ओटा प्रदेशका सुदूरपश्चिमको डोल्पादेखि दिएर सुदूरपूर्वको सोलु पाँचथरसम्म मनाङदेखि लिएर मधेशको महोत्तरीसम्म पुगिरहँदै गर्दा नेपाली कांग्रेसको पक्षमा माहोल देखिएको छ । यो अभ्यासमा कहीँ पनि देशभरि आवेग र उत्तेजना बेगर सबैलाई मतदान गर्नलाई राजनीतिक दलहरूलाई सद्भावपूर्ण वातावरणमा भयरहित वातावरणमा सहयोग गर्नमा लागि म अपील गर्न चाहन्छु ।’