
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका राप्रपाका पूर्वअध्यक्ष कमल थापाले जमानत समेत जोगाउन सकेनन्।
सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेल ३० हजार ७३७ मत ल्याएर विजय हासिल छन्। दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत प्राप्त गर्दा नेकपा एमालेका हेभिवेट नेता ईश्वर पोखरेल ४ हजार ७०१ मत ल्याए।
तर, राप्रपाको चुनाव चिह्न लिएर उठेका कमल थापाले भने जम्मा १ हजार ९२२ मत मात्र प्राप्त गरे। कुल सदर मतको १० प्रतिशत पनि ल्याउन नसकेपछि कानुनबमोजिम उनको जमानत जफत भयो ।
काठमाडौँ ५ बाट राप्रपाका तर्फबाट स्थानीय नेता हिक्मतजंग कार्कीले टिकट पाउने निश्चित भइसकेको थियो। तर, अन्तिम समयमा कमल थापाले आफ्नो प्रभाव प्रयोग गर्दै पेलेर उक्त टिकट आफूले लिएको आरोप लागेको थियो । लामो समयदेखि क्षेत्रमा खटिएका कार्कीको टिकट खोसिएपछि आक्रोशित हुँदै उनले राप्रपा नै परित्याग गरेका थिए।