
गोकर्णेश्वर नगरपालिकाले काठमाडौं उपत्यकाभित्र निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ। नगरपालिकाले आफ्ना नगरबासीलाई लक्षित गर्दै सुरु गरेको उक्त सेवा आवश्यक परे उपत्यकाभित्रका अन्य नागरिकले पनि उपयोग गर्न सक्ने जनाएको छ।
उक्त शववाहन जोरपाटी नारायणटारस्थित नेपाल अर्थोपेडिक अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत एक कार्यक्रमकाबीच नगरपालिकालाई हस्तान्तरण गरेको हो। हस्तान्तरणपछि नगरपालिकाले आवश्यक मर्मतसम्भार गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
नगर प्रमुख दीपक रिसालले दुःखको घडीमा नागरिकलाई आर्थिक बोझ कम गर्न शववाहन सेवा सुरु गरिएको बताए। “कसैलाई आवश्यक पर्दा उपत्यकाभित्र जहाँसुकै पनि सेवा उपलब्ध गराइनेछ,” उनले भने।
यसअघि पनि नगरपालिकाले दुई वटा एम्बुलेन्सबाट सेवा निःशुल्क रूपमा सञ्चालन गर्दै आएको छ। नयाँ थपिएको शववाहन सञ्चालनका लागि करिब दुई लाख रुपैयाँ खर्च गरी मर्मत गरिएको नगरपालिकाले जनाएको छ।
स्वास्थ्य सेवा तथा सामाजिक सहयोगका क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। आर्थिक अवस्था कमजोर भएका तथा दुःखको समयमा थप आर्थिक बोझ व्यहोर्नुपर्ने परिवारका लागि निःशुल्क शववाहन सेवा उपयोगी हुने विश्वास गरिएको छ।