काठमाडौं, चैत ८ :

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा अस्वीकृत गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा यही चैत ६ गते र र आज बसेको  केन्द्रीय समिति बैठकले सभापति थापाले आफ्नो पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए ।पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा कमी आउने सम्भावना रहेकाले सभापति थापाले दिएको राजीनामा अस्वीकृत भएको उनले बताए । सभापति थापाले यही चैत ३ गते पदबाट राजीनामा दिएका थिए ।

“सभापति थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापतिसमक्ष विधानको धारा २६ (१) बमोजिम पेस गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ”, प्रवक्ता चालिसेले भने।

कांग्रेस केन्द्रीय समितिले निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रण बाहिरका परिस्थितिहरू रहेको भन्दै वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको ठहर गरेको छ, त्यस्तै राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएको, सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेको, विशेष महाअधिवेशनपश्चात् प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस  २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेको, पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकाले केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले राजिनामा अस्विकारको निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय समिति वैठकले निर्वाचन परिणामको प्रारम्भिक समीक्षालाई परीमार्जनसहित पारित गरेको छ । उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि बैठकमा विस्तृत छलफल गरिएको प्रवक्ता चालिसे जानकारी दिए । पार्टीले निर्वाचन परिणामलाई लिएर जिल्ला र निर्वाचन क्षेत्रवाट पनि प्रतिवेदन पठाउन आग्रह गर्दै प्रारम्भिक समिक्षा र जिल्ला वाट आएको प्रतिवेदनलाई एकीकृत गरी पुनः समीक्षा गर्ने उनले जानकारी दिए ।

पार्टीको बैठकमा उपसभापति शर्माले प्रस्तुत गरेको २७ बुँदे प्रतिवेदनको सारांशअनुसार निर्वाचन परिणामका प्रमुख कारणहरूमा चरम गुटबन्दी तथा आन्तरिक असहयोगका कारण सङ्गठनात्मक शक्ति कमजोर हुनु, गठबन्धन सरकारको कार्यसम्पादनमा जनअपेक्षाविपरीत परिणाम देखिनु, विगतका शासन व्यवस्थाका संरचनागत कमजोरीहरू (३५ वर्षमा ३२ सरकार परिवर्तन समेत) का कारण जनआक्रोश बढ्नु, जेनजी युवा आन्दोलनले पुराना राजनीतिक शक्तिहरूप्रति असन्तोष अभिव्यक्त गर्नु, डिजिटल युगमा एल्गोरिदमिक प्रभावका कारण नयाँ शक्तिहरू लाई प्रतिक्रियात्मक लाभ पुग्नुरहेको उल्लेख छ ।

कांग्रेसको केन्द्रीय समिति बैठकले यी सबै कारणहरू व्यक्तिगत नभई संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य रहेको ठहर गर्दै विशेष महाधिवेशनपश्चात् गठन भएको नयाँ नेतृत्वलाई सीमित समयावधि (करिब ५० दिन)भित्र यी सबै चुनौतीहरू समाधान गर्न कठिन भएको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस अब पूर्ण रूपमा १५औँ महाधिवेशनतर्फ केन्द्रित भएको जानकारी गराउँदै प्रवक्ता चालिसेले उक्त महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन, सङ्गठनात्मक पुनर्संरचना तथा भावी रणनीति निर्धारण गरिने निर्णय भएको बताए ।

पार्टीको सम्पूर्ण ऊर्जा, योजना र प्रतिबद्धता अब यस महाधिवेशनको सफलतामा केन्द्रित रहनेछ । कांग्रेसले यस निर्वाचन परिणामलाई आत्मसमीक्षा गर्दै नेपाली कांग्रेसले पार्टीलाई पुनःजागरण र पुनर्निर्माण गर्ने अवसरका रूपमा लिएको जानकारी गराउँदै प्रवक्ता चालिसेले यसका लागि सम्पूर्ण कार्यकर्तालाई उच्च मनोबल कायम राख्न, अनुशासनमा रहन र पार्टी एकता सुदृढ गर्न आह्वान गरे ।

पार्टीको बैठकले निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण उम्मेदवार, कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू तथा स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गर्दै विजयी सबै उम्मेदवारहरूलाई बधाई ज्ञापन गरेको छ । बैठकले कठिन परिस्थितिका बाबजुत नेपाली कांग्रेसलाई मत प्रदान गर्ने सम्पूर्ण मतदाताप्रति हामी गहिरो कृतज्ञता व्यक्त गरेको प्रवक्ता चालिसेले जानकारी दिँदै जनताको मतादेश र स्पष्ट सन्देशलाई पार्टीले गम्भीरतापूर्वक आत्मसात् गरेको बताए ।

कांग्रेसले मध्यपूर्वमा चर्किएको युद्ध सम्बन्धमा यो बैठक विश्वशान्तिको अनिवार्य आवश्यकतालाई महसुस गर्दै युद्धको अन्त्य हुने अपेक्षा गर्दै युद्दग्रस्त क्षेत्रमा लाखौ नेपालीहरू असुरक्षित रहेकाले तीनको आवश्यक सुरक्षा व्यवस्था मिलाउन नेपाली कांग्रेसको बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उनले जानकारी दिए । बैठकले युद्धको क्रममा हर्मुज क्षेत्रको वन्दर अव्वास बन्दरगाहमा इरानी सेनाद्वारा नियन्त्रणमा लिएका नेपाली नागरिक अमृत झालाई सकुशल मुक्त गरी स्वदेश फर्काउन बैठकले नेपाल सरकारसँग माग गरेको छ ।

त्यस्तै, २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगद्वारा नेपाल सरकारलाई बुझाएको जाँचबुझ प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न  बैठकले माग गरेको छ । कांग्रेस कार्यसमितिको २०८२ माघ ९ देखि यो बैठकका बीचको अवधिमा नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेसको स¬ङ्गठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेका महानुभावहरूको निधनप्रति कार्यसमितिको बैठकले दुःख व्यक्त गर्दै उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।