
गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिकका साथै दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले मंगलबार काठमाडौंको घण्टाघरमा प्रदर्शन गरेका हुन् ।
हस्ताक्षर संकलनसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले जेनजी आन्दोलनका सहिद र घाइतेहरुलाई न्याय दिनका लागि तत्काल प्रतिवेदन सार्वजनिक हुनुपर्ने जनाएका छन् ।
उनीहरुले रगतको मूल्य कसैले बुझेन, प्रतिवेदन भने अझै देखिएन, प्रतिवेदन लुकाउन पाइदैन, कार्की आयोगको प्रतिवेदन हाम्रो सूचनाको हक, लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नारावाजी गरेका थिए । तत्काल प्रतिवेदन सार्वजनिक नभए कडा आन्दोलन गर्ने त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति गोविन्द कोइरालाले बताए ।
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन बुझाएपछि सरकारले उक्त प्रतिवेदन अध्ययन गर्ने गरि ग्रहण गर्ने निर्णय गरेको थियो । प्रतिवेदन बुझेपनि सरकारले सार्वजनिक नगर्दा युवाहरुले यसअघिको प्रतिवेदन जस्तै दराजमा नै थन्किने हो की भन्ने आशंका गरेका छन् ।