काठमाडौ, चैत १६ :

उपन्यासकार नीलम कार्की निहारीकाको ‘राजमाता’ उपन्यास सार्वजनिक भएको छ ।

फाइन प्रिन्टद्वारा प्रकाशित कार्कीको कृति आईतबार नेपाल पर्यटन बोर्डमा सार्वजनिक भएको हो ।

संस्कृतिविद् प्रा डा वीणा पौडेलले उनको उपन्यासमाथि समीक्षा गरेकी थिईन् । उनका अनुसार साहित्यमा इतिहासलाई आधार मानेर लेख लेख्ने महिला साहित्यकार निकै कम रहेका छन् । जसमा कार्कीले लेखेको यो उपन्यासले इतिहासको एक हिस्सालाई दस्तावेज गरेको उनको बुझाइ छ ।

दसौँ शताब्दीयताको एउटा सांस्कृतिक रहनसहनबारे प्रतिबिम्ब झल्किने उपन्यास राजमाताले त्यस कालखण्डको धेरै नालीबेली समेटेको पौडेलले टिप्पणी गरिन् ।

कार्कीको सन् २०१९ देखि राजमाता उपन्यास लेख्न थालेको भए पनि बीचमा कोरोना महामारीले उपन्यास थन्किएको बताईन् । लेख्दा लेख्दै मरिने हो कि ? जस्ता भावनाहरुले उनलाई त्यतिबेला अल्झाएको क्षण सम्झँदै अहिले राजमाता प्रकाशन गर्न सक्नु आफ्नै जीवनको अमूल्य पल महसुस गरेको कार्कीले बताईन । उनले भनिन्, “मनमा अनेक विचलन आउँथे तर, उपन्यास लेखेरै छाडे ढिलै भए पनि ।”

उपन्यास सार्वजनिक गरेपछि लेखक सोभिता सिम्खडाले लेखक कार्कीसँग राजमाताको विषयमा अन्तरक्रियात्मक संवादसमेत गरेकी थिईन् ।