काठमाडौ, चैत १६ :

नेपाली काँग्रेसका शेरबहादुर देउवा र शेखर कोइराला पक्षधरले आज दिउँसो १२ बजे धुम्वाराहीको स्मार्ट होटलमा प्रतिनिधि सभामा निर्वाचित सांसदहरूका लागि बधाई कार्यक्रम आयोजना गरेको छ ।

पार्टीका कार्यवाहक सभापतिको हैसियतमा पूर्ण बहादुर खड्का र नेता शेखर कोइरालाले काँग्रेसका नव निर्वाचित सांसदलाई बधाईसहितको कार्यक्रम आयोजना गरेका हुन् ।

समानान्तर गतिविधि आयोजना शुरु गरेको यो समूहले  आयोजना गरेको कार्यक्रममा देउवा पक्षका शीर्ष नेताहरू पनि सहभागी हुने बताइएको छ ।

उता यसअघि नै शनिबार सानेपामा नेपाली काँग्रेसले आफ्ना सांसदहरूलाई प्रशिक्षण कार्यक्रम गरिसकेको थियो ।

के पी ओली र रमेश लेखक पक्राउ प्रकरणमा खड्काले कार्यवाहक सभापति भन्दै विज्ञप्ति जारी गरेपछि काँग्रेसको आन्तरिक विवाद सतहमा आएको हो ।

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएको कुरालाई यी समूहले स्विकार्न सकेका छैनन् ।