
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दाको पेसी चैत २७ गतेपछि चढ्ने भएको छ ।
सबै बहसकर्तासँग २७ गतेभित्र बहसनोट पेश गर्न आदेश भएका कारण त्यसपछि पेसी चढ्ने भएको बताईएको छ । विशेष अदालतका सदस्यहरु हेमन्त रावल,डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बहस नोट पेश गर्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भूमिसम्बन्धी ऐन-२०२१ मा विपरीत काम गरेको कारण मुद्दा दायर भएको थियो ।
उक्त ऐनअनुसार उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले जमिनको हदबन्दी छुट गर्नसक्छ । तर, त्यसरी छुट गरेको जमिन विक्रि गर्न पाइँदैन । नेपाल प्रधानमन्त्री रहेको मन्त्रिपरिषद्ले २०६६ माघ १८ मा निर्णय नै गरेर जमिनको विक्रि गर्न अनुमति दिएको थियो।
नेपालका विरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजायको मागदाबी छ । जडीबुटी उत्पादन तथा आयुर्वेद अस्पतालको निर्माणका लागि पतञ्जली योगपीठले हदबन्दी छुटमा जमिन खरिद गरेको थियो ।