काठमाण्डौँ , असोज १९ :

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण- पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

कोशी प्रदेश र  बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक- दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राती पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक- दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।