
काठमाडौं, चैत १७ :
नेपाल निर्माण व्यवसायी महासंघको २६ औं साधारणसभा एवं १३ औ अधिवेशन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । तीन दिनसम्म चल्ने साधारणसभामा देशभरबाट निर्माण व्यवसायी प्रतिनिधिहरूको सहभागिता रहेको छ । साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गर्ने महासंघले जनाएको छ । नेतृत्वका लागि महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा र सल्लाहकार निकोलश पाण्डेले प्यानल नै घोषणा गरेका छन् ।
उद्घाटन समारोहमा महासंघका अध्यक्ष रवि सिंहले सहमतिमा अघि बढ्न सुझाव दिए । उनले निर्माण क्षेत्रलाई थप मर्यादित बनाउन पनि सवै व्यवसायीहरु गम्भीर भएर अघि बढ्नुपर्ने उल्लेख गरे । निर्माण व्यवसायी महासंघले आफूहरुले अघि सार्दै आएको सार्वजनिक खरिद ऐनलाई पूर्वाधारमैत्री बनाउनुपर्ने विषयलाई वर्तमान सरकारले अघि बढाउन लागेकाले उत्साही भएको समेत जनाएको छ ।