बागमती, असोज १९ :

त्रिभुवन राजपथ सडक अन्तर्गतको हेटौँडा- चित्लाङ -चन्द्रागिरि- काठमाडौँ  खण्डमा आज बिहानदेखि  यातायातका साधन सञ्चालन भएका छन्।

जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी सडकमा सबै सवारी साधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो ।
 
मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाले सडकमा कुनै किसिमको अवरोध नरहेकाले आज बिहानदेखि  यातायातका साधन पुनः सञ्चालन भएको जानकारी दिनुभयो। हेटौँडा- पालुङ- नौबिसे सडकखण्डमा पनि हलुका सवारी सञ्चालन भएका छन् । 

बाढीपहिरोको कारण अवरुद्ध सबै सडक सञ्चालन गर्न  सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राविधिक टोलीले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो । 

हेटौँडा- काठमाडौँ जोड्ने सडक अन्तर्गत हेटौँडा- भैँसे- रातोमाटे खण्डको गोल्पिङबेँसीमा ठुल्ठूला ढुङ्गासहित खसेको पहिरो पन्छाउन चारवटा मेसिन प्रयोग गरेर काम भइरहेको छ । 

सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका- ६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका- २ सिमखोलासम्मको पहिरो पन्छाइसकेको र इन्द्रसरोवर गाउँपालिका- २ स्थित बाढीले बगाएको कुलेखानी पुलको निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । 

दक्षिणकाली- फर्पिङ सडक अन्तर्गत महालक्ष्मी खोलादेखि पाकेलसम्म र पाकेलदेखि फर्पिङसम्मका केही भागमा खसेको पहिरो पन्छाउन दुईवटा  मेसिन चलाइएको छ ।