काठमाडौं, चैत २४ :

सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा किरण पण्डितलाई नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई आगामी पाँच वर्षको कार्यकालका लागि उक्त पदमा नियुक्त गरेको हो ।

नवनियुक्त डेपुटी गभर्नर राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यकारी निर्देशक हुन् । २०८६ सालमा राष्ट्र बैंकमा सेवा प्रवेश गरेको २० वर्षमै उनी डेपुटी गभर्नर बन्न सफल भएका हुन् । पण्डितले यसअघि राष्ट्र बैंकको प्रवक्ताको रूपमा समेत काम गरिसकेका छन् ।

तत्कालीन डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना र बमबहादुर मिश्रको कार्यकाल सकिएसँगै राष्ट्र बैंकमा दुई विशिष्ट पद रिक्त थियो । 
गभर्नर डा. विश्वनाथ पौडेलले रिक्त दुई पदका लागि चार जना कार्यकारी निर्देशकहरूको नाम सरकारसमक्ष सिफारिस गरेका थिए ।त्यसमध्ये आज एउटा पदमा मात्रै नियुक्त गरिएको छ ।  

यस्तै मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा डा. गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।