काठमाडौं, चैत २४ :

नेकपा एमालेका सांसदहरुले सुशासन कायम गर्ने नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई सुझाव दिएका छन् ।

सिंहदरबारमा मंगलबार बसेका प्रतिनिधिसभा बैठकमा उनीहरुले सरकारले सुरुवाती चरणबाटै संविधान र विधिको शासन उलंघन गर्ने काम गरेको भन्दै प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई सुझाव दिएका हुन् ।

बैठकमा एमाले सांसद गुरुप्रसाद बरालले सरकारले नेपालको संविधान र विधिको शासनको उलंघन गरिरहेको भन्दै संविधान प्रदत्त नागरिकका मौलिक अधिकारहरूलाई स्थापित गर्नका लागि निर्देशन दिन अनुरोध गरे। भाद्र २३ र २४ को घटनालाई लिएर पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको मुद्दा खारेजजन्य रहेको उनले बताए ।

त्यस्तै एमालेकी अर्का सांसद यशुदाकुमारी बरालले २००७ सालदेखि जेनजी आन्दोलनसम्मका घटनाक्रमलाई लिएर सवै फाइल खोल्न आग्रह गरिन् । ओली र लेखकमाथि राजनीतिक प्रतिशोध राख्ने काम नगर्न उनले ध्यानाकर्षण गराइन् । उनले वर्तमान सरकारले विधिको शासन उलंघन गरे धेरै ठूलो क्षति व्यहोनुपर्ने चेतावनी दिइन् ।