
नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सोमबार पित्तेथैलीको शल्यक्रिया गर्ने तयारी गरिएको छ ।शल्यक्रियानका लागि अस्पतालका विभिन्न विभागहरूले ओलीको स्वास्थ्य ‘अब्जरभेसन’ गरिरहेको उनका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।
१३ दिनपछि बिहीबार हिरासत मुक्त भएका ओलीलाई केहीदिन अस्पतालमै राखिने छ । पक्राउ परेको दिनदेखि नै अस्वस्थ भएका कारण अस्पताल भर्ना भएका ओलीलाई प्रहरीले उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो ।
बुवाको काजक्रिया गरिरहेका ओलीको स्वास्थ्य कमजोर बनेको थियो । ओलीको गिरफ्तारीपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल लगेको थियो । उनको मुटुको धड्कनमा समस्या देखिएको थियो । त्यसपछि उनलाई शिक्षण अस्पतालको एनेक्स– १’ को बेड नम्बर ५०१ भर्ना गरिएको थियो । लामो समयअगाडि किड्नी फेरेका ओलीलाई पिसाब लगायत विभिन्न स्वास्थ्य समस्या देखिएको छ ।