
प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राप्रपालाई समर्थन गर्ने भएको छ। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपाले राप्रपालाई उपसभामुखमा समर्थन गर्ने बताए । उपसभामुखका लागि शुक्रबार प्रतिनिधिसभामा निर्वाचनको कार्यक्रम तय गरिएको छ।
उपसभामुख फरक दल बनाउनुपर्ने संवैधानिक बाध्यताअनुसार रास्वपाले राप्रपालाई सघाउने भएको हो। उपसभामुखका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा, श्रम संस्कृतिक पार्टी र राप्रपाले दाबी गर्दै आएका छन् ।
श्रम संस्कृति पार्टीले उम्मेदवारी दिए पनि अरु दलले उम्मेदवारी दिने वा नदिने भन्ने प्रष्ट भइसकेको छैन । उपसभामुखका लागि बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारीको समय तोकिएको छ। रास्वपाको बहुमत भएकाले उसले जसलाई समर्थन गर्छ सोही पार्टीको उपसभामुख बन्ने छन् ।
राप्रपाले सरस्वती लामालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ। उनी समानुपातिकबाट सांसद बनेकी हुन् । रास्वपाले सघाउने भएसँगै उपसभामुखमा लामा निश्चित जस्तै भएको छ। सभामुखमा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालय निर्विरोध निर्वाचित भइसकेका छन् ।