काठमाडौं, चैत २७ :

विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनहरूले आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन सरकारले विद्यार्थी संगठनहरूमाथि गरेको प्रतिबन्धविरुद्ध १५ वटा विद्यार्थी संगठनहरूले देशव्यापी आन्दोलनको घोषणा गरेका हुन।

पहिलो चरणको आन्दोलनअन्तर्गत विद्यार्थी संगठनहरूले चैत २८ गते नागरिक अगुवा तथा सरोकारवालासँग अन्तरक्रिया गर्ने तथा चैत २९ देखि वैशाख ४ गतेसम्म देशभर कलेजस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने जनाएका छन्।

यसैगरी अगामी वैशाख ५ गते पूर्वविद्यार्थी नेता तथा सांसदहरूसँग संवाद गर्ने, वैशाख ७ देखि १४ गतेसम्म देशव्यापी प्रचारप्रसार, साँस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम गर्ने, वैशाख ११ गते विश्वविद्यालय उपकुलपतिलाई ज्ञापनपत्र बुझाउने, वैशाख १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने र वैशाख १५ गते काठमाडौँ उपत्यकामा कापी–कलमसहित देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेका छन्।

विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय संविधान, लोकतान्त्रिक मूल्य मान्यताविपरीत तथा नागरिक अधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको भन्दै उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने उनीहरूको माग छ। सरकारले शासकीय सुधारअन्तर्गत विद्यार्थी संगठनहरूको गतिविधि नियन्त्रण वा प्रतिबन्ध गर्ने निर्णय गरेको थियो।