
कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणले पार्टी एकतामा बाधा पुर्याउने बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले नेपाली कांग्रेस अहिले इतिहासकै कमजोर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै आन्तरिक विवादले पार्टी मात्र होइन, समग्र लोकतन्त्रमामै असर पार्ने उल्लेख गरेका छन् ।
अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा तल्लो तहदेखि शीर्ष नेतृत्वसम्म एकता अपरिहार्य भएको बताए । कोइरालाले पार्टीभित्र मतभेद हुनु स्वाभाविक भए पनि त्यसलाई व्यवस्थापन गर्ने तरिका महत्त्वपूर्ण हुने बताएका छन् ।अहिले देखिएको गतिविधिले कांग्रेसलाई थप कमजोर बनाउने खतरा रहेको उनले संकेत गरेका छन् ।
१५ औं महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यताको नवीकरण भइसकेको अवस्थामा अहिले सदस्यता अद्यावधिकको नाममा गरिने फेरबदलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, निष्पक्षता र पारदर्शितामा असर पार्ने उनको भनाइ छ । अनुशासन समितिले बुधबार खडकालाई सात दिनको स्पष्टीकरण सोध्ने निर्णय लिएको छ ।