
भक्तपुरमा आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आज भैरवको रथ तान्दै समापन गर्दैछन् ।
गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको यो जात्राको आज अन्तिम दिन दिउँसो ४ बजे गःहिटीबाट भैरवको रथ तानेर जात्रा सम्पन्न गर्ने गुठी कार्यालय भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले जानकारी दिए । आज अपराह्नसम्म सबै पूजाहरू सम्पन्न गरी ५ बजेदेखि भैरवको रथ तान्न सुरु भएको हो । रथ गःहिटीबाट तानेर सुकुलढोका हुँदै तीनढुङ्गे पुर्याएपछि दत्तात्रयतर्फ लैजाँदै गरेको रथ पुनः सुकुलढोका हुँदै तौमढीमै ल्याइपुर्याएको छ ।
स्थानीय हजारौँको भीडले भैरवको रथ तान्ने क्रममा राति ९ बजे पुनः तौमढी ल्याइपुर्याएको छ । रथलाई तल्लो बस्तीका बासिन्दाले तानेर गःहिटी हुँदै वंशगोपालतर्फ लैजान तान्ने क्रम जारी रहेको छ । आज रथ तानेर सम्पन्न भएपछि भैरव देवतालाई रथबाट निकाली देवता घर भित्र्याएपछि जात्रा सम्पन्न हुने उनले जानकारी दिए ।
जात्रा राति ९ बजेसम्म शान्ति पूर्ण रूपमा सञ्चालन भएको छ । रथ तान्ने क्रममा कुनै अप्रिय घटना नभए पनि रथले किचेर एक जना घाइते भएपछि भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । रथ तान्ने क्रममा रथलाई तौमढीबाट माथि र तल लैजाने क्रममा झडप हुनसक्ने भएकाले यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज दुई हजार सुरक्षाकर्मी परिचालन गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बिस्केट जात्रामा हुलदङ्गा हुन नदिन र शान्तिपूर्ण रूपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यबसथा कडा गरिएको बताए ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले सुरक्षाका लागि जात्रामा आज दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनले जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आह्वान गर्दै झडप भएमात्रै प्रहरी जात्रास्थल पुग्ने बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा टोली खटाइएको जानकारी दिँदै उनले जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हुलदङ्गा गर्न खोज्नेलाई पक्राउ गरी कडा कारबाही गरिने उनले बताए । जात्राका लागि काठमाडौँबाट समेत थप प्रहरीको मद्दत ल्याएको बताउँदै सादा पोशाकमा सुरक्षाकर्मी जात्राका लागि खटिएको बताए ।