
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै उनीसँग सम्बन्धित आरोपबारे तत्काल निष्पक्ष छानबिन सुरु गर्न सरकारसँग आग्रह गरेको छ।
सोमबार कांग्रेसका प्रवक्ता देवराज चालिसेले जारी गरेको प्रेस विज्ञप्तिमा गृहमन्त्री गुरुङसँग सम्बन्धित पछिल्ला समाचारहरूले गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ कि उक्त प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितामाथि समेत प्रश्न खडा गरेको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी रहेको भन्ने समाचार सार्वजनिक भएका छन्। साथै, गुरुङले ‘जेनजी आन्दोन’पछि खरिद गरेको सेयर सम्पत्ति विवरणमा उल्लेख नगरेको आरोप पनि लागिरहेको छ।
यी विषयलाई गम्भीर रूपमा लिँदै कांग्रेसले गृहमन्त्रीमाथि स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन तत्काल सुरु गर्न माग गरेको हो। पार्टीले ढिलासुस्ती, प्रभाव वा ढाकछोपको कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमा गम्भीर असर पार्ने चेतावनी दिएको छ। कांग्रेसले अनुसन्धान निष्पक्ष रूपमा अघि बढाउन आवश्यक वातावरण सिर्जना गर्न पनि जोड दिएको छ।