
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरी राष्ट्रिय पूँजीको विकास सम्भव नहुने बताएका छन्।
बुधबार बिराटनगरमा विराट व्यापार संघको २६औं साधारण सभा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले निजी क्षेत्रलाई हतोत्साहित गर्ने कुनै पनि कार्यको प्रदेश सरकारले सधैं विरोध गर्ने स्पष्ट पारे । उनले संविधान र कानुन विपरीत प्रतिशोध तथा पूर्वाग्रह राखेर काम नगर्न आग्रह गर्दै देशको समग्र विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । पछिल्लो निर्वाचनपछि देशमा राजनीतिक स्थिरता कायम भएकाले अब आर्थिक समृद्धि हासिल गर्ने आधार तयार भएको उनको भनाइ छ ।
कार्यक्रममा सहभागी व्यवसायीहरुले अन्तर्राष्ट्रिय परिस्थितिका कारण व्यापार व्यवसाय कठिन अवस्थामा पुगेको उल्लेख गर्दै यस्तो बेला सरकारले निजी क्षेत्रलाई दबाबमा राख्नु उपयुक्त नहुने बताएका थिए। उनीहरूले खुला सिमानाका कारण बढ्दै गएको चोरी तस्करी नियन्त्रणका लागि सम्बन्धित निकाय थप संवेदनशील हुनुपर्ने माग पनि गरेका छन् । यसैबीच, विराट व्यापार संघको १३औं अधिवेशनले प्रमोद अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।