काठमाडौं, वैशाख २७ :

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सच्चा कम्युनिस्टहरूबीच एकताको आवश्यकता अहिले झन् बढेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित २६औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय रूपमा कम्युनिस्ट आन्दोलन बहस, विभाजन र एकताको प्रक्रियाबाट अघि बढिरहेको बताए।

उनले नेपालमा श्रमजीवी वर्ग र कम्युनिस्ट शक्तिहरूलाई नयाँ ढंगले एकताबद्ध गर्नुपर्ने आवश्यकता औंल्याउँदै विगतका कमजोरीहरूको समीक्षा गरेर आन्दोलनलाई विचार, राजनीति र संगठनका आधारमा अघि बढाउनुपर्ने बताए।

प्रचण्डले देशमा साम्राज्यवादी हस्तक्षेप बढेको दाबी गर्दै गत निर्वाचनमा कम्युनिस्टहरूलाई कमजोर पार्ने खेल भएको संकेत गरे। त्यस्ता गतिविधिबारे सत्य अझै पूर्ण रूपमा बाहिर नआएको उनको भनाइ थियो।

उनले नेपाली जनताले कम्युनिस्टहरूबीच एकता चाहेको उल्लेख गर्दै विगतका एकता प्रयास दिगो र सफल हुन नसकेको स्वीकार गरे।