
संस्कृतिविद् डा. गोविन्द टण्डनले जगद्गुरु शंकराचार्य श्रीश्री विधुशेखर भारती सन्नीधानम्को नेपाल आगमनले धार्मिक तथा आध्यात्मिक क्षेत्र मात्र नभई नेपाल–भारतबीचको सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई समेत थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनको नेपाल भ्रमण वैदिक सनातन हिन्दू धर्मको संरक्षण, संवर्धन र प्रवर्धनका लागि अत्यन्त महत्त्वपूर्ण अवसर हुने टण्डनले बताए।
डा टण्डनले इतिहासका विभिन्न कालखण्डमा आदि शंकराचार्य तथा शंकराचार्य परम्पराका गुरुहरू नेपालमा आएर धार्मिक जागरण र सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पुर्याएको उल्लेख गरे। उनले करिब ५९ वर्षपछि शृङ्गेरी मठ परम्पराका जगद्गुरु शंकराचार्यको नेपाल भ्रमण हुन लागेको भन्दै यसलाई विशेष ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताए।
जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीज्यूको दुर्लभ नेपाल दर्शन
डा टण्डनका अनुसार धार्मिक तथा आध्यात्मिक माध्यमबाट नेपाल–भारतबीचको पुरानो सम्बन्धलाई पुनः नवीकरण गर्ने यो एउटा महत्वपूर्ण अवसर हो, जसले आगामी दिनमा दुई देशबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग पुर्याउनेछ। उनका अनुसार नेपाल र भारतबीचको धार्मिक तथा आध्यात्मिक सम्बन्ध आजको मात्रै नभई इतिहासदेखि नै गहिरो रूपमा जोडिएको छ।
नेपालमा हुन लागेको ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन जगद्गुरु शंकराचार्य नेपाल आउँदैछन् । पशुपतिनाथ मन्दिर परिसरमा जेठ ८ गते शुक्रबारदेखि जेठ १५ गतेसम्म गतेसम्म प्रत्येक दिन साँझ ८ बजेदेखि विश्व शान्ति र लोक कल्याणका लागि चन्द्रमौलेश्वर पूजा हुदैछ ।