काठमाडौं, जेठ ९ :

शृङ्गेरी शारदा पीठका जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीज्यूले आज पनि काठमाडौंका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलको भ्रमण तथा पूजापाठ गर्नुभएको छ।

नेपाल भ्रमणको दोस्रो दिन महास्वामीज्यूले आज बिहान बुढानीलकण्ठ मन्दिरमा विशेष पूजा अर्चना गर्नुभएको थियो। त्यसअघि उमाकुण्ड दक्षिणामूर्तिदेखि पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गरिएको थियो। पदयात्रापछि उहाँले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्नुभयो।

उहाँले आजै बुढानीलकण्ठ नगरपालिका–७, हेपाली हाइटस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) अन्तर्गत निर्माण गरिएको बाल अस्पताल भवनको उद्घाटन गर्नुभयो ।

जगत्गुरु शङ्कराचार्य श्री श्री विधुशेखर भारती महास्वामीद्वारा नवनिर्मित बाल अस्पताल भवनको उद्घाटन

यसैगरी, महास्वामीज्यूले आजै भाटभटेनी देवी मन्दिर, बसन्तपुर दरबार क्षेत्र, कालभैरव मन्दिर तथा नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको चतुर्भुज नारायण मन्दिरको दर्शन गर्नुभयो। उहाँ आजै साँझ पशुपतिनाथ शंकराचार्य मठमा आयोजना गरिएको चन्द्रमौलेश्वर पूजामा सहभागी हुनु भयो।

नेपाललाई ‘अति पवित्र भूमि’ भन्दै जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीद्वारा प्रशंसा
 

जगद्गुरु शंकराचार्य महास्वामीज्यू साताव्यापी धार्मिक भ्रमणका क्रममा हिजो काठमाडौं आइपुग्नुभएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पशुपतिनाथ परिसरसम्म उहाँको बाजागाजासहित भव्य स्वागत गरिएको थियो।

महास्वामीज्यूको नेपाल भ्रमण आगामी जेठ १५ गतेसम्म रहने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उहाँले देवघाट, कागबेनी तथा मुक्तिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

नेपाल आगमन लगत्तै उहाँले नेपाल संसारकै पवित्र देशहरूमध्ये एक भएको उल्लेख गर्दै नेपाली भक्तजनको श्रद्धा, भक्ति र धार्मिक आस्थाप्रति खुशी व्यक्त गर्नुभयो ।