
नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बन्दै गएको छ। शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीसमक्ष राजीनामा माग गरेका छन्।
बैठकमा भट्टराईले “अब तपाईंबाट पार्टी चल्दैन, राजीनामा दिनुस्” भन्दै ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेको एक पदाधिकारीले बताएका छन्।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पनि चार जना उपाध्यक्षहरूले ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका थिए। पार्टीभित्र पछिल्लो राजनीतिक परिस्थिति र संगठनात्मक अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको उनीहरूको धारणा रहेको बताइएको छ।
यसैबीच महासचिव शंकर पोखरेलले पनि पार्टी वर्तमान अवस्थाबाट अघि बढ्न नसक्ने संकेत गरेका छन्। शनिबारको बैठकमा उनले पार्टीभित्र व्यापक समीक्षा आवश्यक रहेको उल्लेख गर्दै अहिलेको परिस्थितिमा यथास्थितिमा अघि बढ्न कठिन हुने बताएका थिए। यद्यपि उनले प्रत्यक्ष रूपमा ओलीको राजीनामा भने माग गरेका थिएनन्। एमालेभित्र पछिल्ला दिनमा नेतृत्व, कार्यशैली र आगामी राजनीतिक रणनीतिलाई लिएर असन्तुष्टि बढ्दै गएको देखिएको छ।