
बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र रहेको बेनी नगरपालिका–९ घतानस्थित ऐतिहासिक ढोलथान ओझेलमा छ ।
विसं १६३१ देखि तत्कालीन राजाहरू हिउँदका चार महिना बेनी र अरु आठ महिना ढोलथानमा बसेर पर्वत राज्य सञ्चालन गरेको इतिहास छ । पर्वत राज्य नेपालमा बिलय भएको समय अर्थात् विसं १८४३ सम्म ढोलथानमा राज्यको राजधानीको रूपमा रहेको थियो ।
ऐतिहासिक महत्त्व बोकेको प्राकृतिक हिसाबले रमणीय सो स्थान पछिल्लो सयम विकास पूर्णाधार, सहज सडक पहुँत तथा प्रचारप्रसारको कामीले ओझेलमा परेको स्थानीय भेषबहादुर सेनले बताए । “संरक्षण र आवश्यक प्रवर्द्धनको अभावमा ढोलथानको ऐतिहासिक महत्त्व र प्राकृतिक विशेषता स्थानीयस्तरमै सीमित भएको छ”, उनले भने, “यहाँसम्म पुग्ने सडक स्तरोन्नति, पूर्वाधार विकास र प्रचारप्रसार गर्न सकेमा पर्यटकीय गन्तव्यको रूपमा विकास हुने प्रशस्त सम्भावना छ । यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ ।”
समुन्द्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको ढोलथानबाट धौलागिरी, अन्नपूर्ण, निलगिरि, बराहशिखर, माछापुच्छ्रे हिमशृङ्खला, नागबेली परेर बगेका म्याग्दी र कालीगण्डकी नदी, म्याग्दी, पर्वत र बागलुङका ग्रामीण बस्ती तथा पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ । यहाँ तत्कालीन दरबारका भग्नावशेषका साथै १६औँ शताब्दीका ऐतिहासिक सामग्रीहरू पनि छन् ।
भत्किएको दरबार र वरपरका भग्नावशेषलाई सङ्घीयतापछि बेनी नगरपालिका र प्रदेश सरकारको सहयोगमा संरक्षण गरी उद्यान बनाइएको छ । यस क्षेत्रको ऐतिहासिक महत्त्वलाई उजागर गर्न सडक, पदमार्ग र उद्यान निर्माण गरेर प्रवर्द्धन गर्ने योजना रहेको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए ।
“विस्तृत परियोजना प्रतिवेदन बनाएर प्रदेश र सङ्घीय सरकारलाई योजना तथा बजेट मागेका छौँ”, उनले भन, “ढोलथान पुग्ने सडकलाई सहज बनाउन प्राथमिकताका साथ पहल गरेका छौँ । यदी त्यो कार्यान्वयन भएमा यसले पर्यटकीय गन्तव्यको रूप धारण गर्ने विश्वास छ ।”
यहाँ प्रदेश सरकारको सहयोगमा सार्वजनिक शौचालय, पदमार्ग र बगैचा निर्माण गरेर उद्यान बनाइएको छ । बेनी नगरपालिकाले पदमार्ग र प्रतिक्षालय निर्माण गरेको छ ।
बेनीदेखि पुलाचौर नयाँगाउँ हुँदै ४५ मिनेट, तोरीपानी, ढावा हुँदै एक घण्टा १५ मिनेट सवारीसाधनको यात्रामा ढोलथान पुगिन्छ ।
बेनीदेखि गुफाको डिल, पछै, घतानकोत, ढोलथान, जगन्नाथ, ढडेकोट दरवार जोड्ने पदमार्गको यात्राका क्रममा अन्य धार्मिक र पर्यटकीयस्थल भ्रमण गर्न सकिन्छ । पैदलयात्रा गरेर बेनीदेखि दुई घण्टा ३० मिनेटमा ढोलथान पुग्ने गरिएको छ ।