काठमाडौं, असार ५ :

क्यानाडाले विश्वकपमा आफ्नो इतिहासकै पहिलो जित दर्ता गरे पनि मिडफिल्डर इस्माएल कोनेको गम्भीर चोटले त्यो खुसी ओझेलमा परेको छ।

दोस्रो हाफमा आसिम माडिबोले पछाडिबाट गरेको ट्याकलपछि कोनेको देब्रे खुट्टामा चोट लागेको थियो। ट्याकल लगत्तै २४ वर्षीय कोने मैदानमा लडेका थिए र पीडाले छट्पटाइरहेका देखिन्थे। अवस्था गम्भीर देखिएपछि खेलाडीहरूले तुरुन्तै मेडिकल टोलीलाई बोलाएका थिए।

माडिबोलाई उक्त खतरनाक ट्याकलका कारण रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाइयो। कोनेलाई उपचारका क्रममा उनका टोलीका खेलाडीहरूले वरिपरि घेरा बनाएर सुरक्षा दिएका थिए। प्रारम्भिक उपचारपछि उनलाई स्ट्रेचरमार्फत मैदानबाहिर लगिएको थियो।

क्यानडाका कप्तान स्टेफेन स्टाक्यूले  भने “मैले उनको खुट्टा देखें। केही ठीक नभएको स्पष्ट देखिन्थ्यो।”

क्यानडाका प्रशिक्षक जेसे मार्कका अनुसार कोनेलाई तत्काल स्थानीय अस्पताल लगिएको थियो, जहाँ उनी परिवारका सदस्यहरूको साथमा शल्यक्रियाको तयारीमा थिए।

माडिबोको रातो कार्डपछि कतार १० खेलाडीमा सीमित भएको थियो। त्यसअघि पहिलो हाफमै होमान आम्ड पनि रातो कार्ड पाएर मैदानबाट बाहिरिएका कारण कतारले खेलको अधिकांश समय ९ खेलाडीमै बिताउनुपरेको थियो।

कोनेको स्थानमा मैदान प्रवेश गरेका नाथान शालिबाले  १० मिनेटभन्दा कम समयमा क्यानडाको चौथो गोल गरे। गोल गरेपछि उनले कोनेको जर्सी उठाएर भावुकता व्यक्त गरेका थिए।

खेलमा ह्याट्रिक गरेका क्यानडाका स्ट्राइकर जोनाथान डेभिडले कोनेमाथि गरिएको ट्याकलको आवश्यकता नै नरहेको भन्दै प्रश्न उठाएका छन्।

क्यानडाले कतारलाई ६–० ले पराजित गर्दै विश्वकप इतिहासको पहिलो जित हासिल गरेको थियो, तर कोनेको चोटले टोलीको उत्साहमा चिन्ताको छाया थपेको छ।

क्यानडाका स्ट्राइकर जोनाथान डेभिडले  कोनेमाथि गरिएको ट्याकलको कडा आलोचना गर्दै भने “यदि बल जित्ने कुनै सम्भावना नै छैन भने त्यस्तो खेलको कुनै अर्थ हुँदैन। त्यो केवल खेलाडीलाई चोट पुर्‍याउनका लागि गरिएको जस्तो देखिन्छ।”

हालसम्म इस्माएल कोनेको चोटबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। तर घटनापछिका तस्बिरहरूमा उनको देब्रे खुट्टाको तल्लो भाग भाँचिएको जस्तो स्पष्ट देखिएको थियो।

क्यानडाका कप्तान स्टेफन स्टेक्यूले  टोलीमा कोनेको महत्वबारे बोल्दै भने “हामी कोनेलाई धेरै मिस गर्नेछौं। उनीसँग त्यस्तो विशेष क्षमता छ, जुन हाम्रो टोलीलाई साँच्चिकै आवश्यक पर्छ।”

कोनेको चोटले विश्वकपमा ऐतिहासिक जित हासिल गरेको क्यानडाको खुसीलाई केही हदसम्म फिक्का बनाएको छ। अब उनको उपचार र पुनरागमनका बारेमा टोली तथा समर्थकहरू चिन्तित छन्।