
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको रिक्त अध्यक्ष पदमा डाक्टर गोपालप्रसाद भट्ट, कैलालीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।
बैठकले नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ भने सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय भएको मन्त्री तिमिल्सिनाले बताए ।
बैठकले बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने र राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको उहाले जानकारी दिए ।
त्यस्तै बैठकले संघीय संसद समक्ष सहकारी ऐन, सार्वजनिक खरीद ऐन, सम्पत्ति शुद्धिकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको प्रतिस्थापन विधेयकहरू पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।