काठमाडौै, असार ७ :

कागेश्वरी मनोहरा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट निर्माणका सन्दर्भमा सरोकारवालाहरूसँग छलफल तथा सुझाव संकलन कार्यक्रमलाई निरन्तरता दिएको छ। यसै क्रममा नगरपालिकाको सभाहलमा आज महिला, बालबालिका तथा जेष्ठ नागरिकका विषयमा विशेष छलफल सम्पन्न भएको छ।

कार्यक्रममा नगरभित्रका महिला समूहका प्रतिनिधि, जेष्ठ नागरिक तथा विद्यार्थीका प्रतिनिधिहरुले आगामी बजेटमा समेटिनुपर्ने योजना तथा प्राथमिकताका बारेमा आफ्ना धारणा प्रस्तुत गरेका थिए। उनीहरूले स्थानीय आवश्यकता, महिला सशक्तिकरण, बालबालिकाको अधिकार तथा सामाजिक विकासका विषयलाई बजेटमा उच्च प्राथमिकताका साथ समेटिनुपर्ने सुझाव दिएका थिए।

विद्यार्थी प्रतिनिधिहरूले बालबालिकाको क्षेत्रमा बढ्दो लगानी आवश्यक रहेको उल्लेख गर्दै अपाङ्गता भएका बालबालिका, मानसिक स्वास्थ्य, विद्यालयको अवस्था तथा अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिन आग्रह गरे।

कान्ति भैरव विद्यालयकी एक विद्यार्थी प्रतिनिधिले बालबालिकाको शारीरिक स्वास्थ्यमा सुधार भए पनि मानसिक स्वास्थ्यतर्फ पर्याप्त ध्यान नपुगेको भन्दै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरू च्यातिएका पोशाकमै विद्यालय आउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि बजेटमै विशेष व्यवस्था गर्न माग गरिन्।

त्यस्तै, महिला अधिकारकर्मी तथा सरोकारवालाहरूले नगरभित्र महिला सहभागिता र लक्षित कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले महिला सशक्तीकरण बिना समतामूलक समाज निर्माण सम्भव नहुने उल्लेख गर्दै दीर्घकालीन कार्यक्रमको आवश्यकता औंल्याए।

जेष्ठ नागरिक प्रतिनिधिहरूले नगरस्तरीय जेष्ठ नागरिक सञ्जाल गठन गर्नुपर्ने माग गरेका छन्। उनीहरूले हालसम्म जेष्ठ नागरिकको अवस्था कमजोर रहेको, अधिकार तथा सेवामा पहुँच सीमित रहेको भन्दै संगठित संरचना निर्माण अपरिहार्य रहेको धारणा व्यक्त गरे।

नगर प्रमुख उपेन्द्र कार्कीले नागरिकहरूबाट प्राप्त सुझावहरूलाई आगामी बजेटमा प्राथमिकताका साथ समेटिने प्रतिबद्धता जनाए। उनले अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिका तथा जेष्ठ नागरिकको सहभागिता र सशक्तीकरणलाई नगरपालिकाको प्रमुख प्राथमिकतामा राखिने स्पष्ट पारे।

नगर प्रमुख कार्कीले अपाङ्गता भएका व्यक्तिहरूका लागि परिचयपत्र वितरण तथा नियमित भत्ता प्रक्रियालाई थप प्रभावकारी बनाइने जानकारी दिए। साथै, विद्यार्थी उमेर समूहका अपाङ्गता भएका व्यक्तिहरूका लागि ‘डे केयर सेन्टर’ सञ्चालनको तयारी भइरहेको उल्लेख गर्दै साउन १ गतेदेखि केही कार्यक्रम कार्यान्वयनमा ल्याइने बताए।

त्यसैगरी, अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेका सामग्रीहरूको प्रवर्द्धन र बजार पहुँच विस्तारमा समेत जोड दिइने उनले जानकारी दिए। महिला सशक्तीकरणका विषयमा बोल्दै उनले नगरभित्र ३८ देखि ४२ वटासम्म महिला समूहहरू विधिवत रूपमा गठन भई तालिम तथा सीप विकास कार्यक्रममार्फत निरन्तर सशक्त बनाइँदै आएको बताए।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता अन्तर्क्रियात्मक कार्यक्रमले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई सुदृढ बनाउँदै बजेटलाई अझ जनमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।