
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरेपछि रातारात काठमाडौं ल्याइएको छ।
सोमबार अपराह्न सुर्खेतमा भइरहेको पार्टी कार्यक्रमस्थलबाट पक्राउ परेका ७३ वर्षीय पौडेललाई नेपालगञ्ज–घोराही रुटमा चल्ने बा ५ ख ४०३१ नम्बरको हाइस गाडीमार्फत काठमाडौं ल्याइएको हो। उनलाई राति करिब ११ बजे कोहलपुरबाट काठमाडौंका लागि हिँडाइएको थियो।
यात्राका क्रममा पौडेलले खासै संवाद नगरेको र एक–दुई पटक मात्र आफ्ना सहयोगीसँग कुरा गरेको स्रोतको भनाइ छ। अधिकांश समय भने उनी सुतेरै बिताएका थिए।
काठमाडौं ल्याइएपछि पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ। विभागले उनलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति माग्दै विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको जनाएको छ।
पौडेल विवादास्पद व्यापारी दीपक भट्टसँगको सम्बन्ध र आर्थिक कारोबारबारे अनुसन्धानको दायरामा आएपछि पक्राउ परेका हुन्। सोही मुद्दामा पक्राउ परेका भट्ट हाल पुर्पक्षका लागि थुनामा रहेका छन्।