
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशिल रहेको बताएकी छन् ।
मंगलबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको विनियोजित विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अन्तर–मन्त्रालय र अन्तर–तह समन्वयलाई प्रभावकारी बनाउँदै निजी क्षेत्रको मनोबल उच्च राख्ने र उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि मन्त्रालय क्रियाशील रहने बताइन् ।
सरकारका विभिन्न मन्त्रालयहरूबीच समन्वय र अन्तर–सम्बन्ध कायम गरी सहज उत्पादन, लगानी तथा व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।उनले ‘लगानी संरक्षण तथा प्रवद्र्धन रणनीति’ तर्जुमा गरी नेपाल सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत हुने चरणमा रहेको जानकारी दिइन् ।
यस रणनीतिले निजी सम्पत्तिको संरक्षण, लगानी संरक्षण र उद्योग प्रतिष्ठानहरूलाई ’शान्ति क्षेत्र’ का रूपमा स्थापित गर्ने उद्देश्य राखेको उनको भनाइ छ ।
त्यस्तै उनले विगतका आन्दोलनका क्रममा भएका क्षतिका कारण बन्द तथा रुग्ण हुन पुगेका उद्योग व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन विभिन्न छुट, सुविधा तथा सहुलियतको व्यवस्था ल्याइने जनाइन् ।
उनले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताइन् । सातवटा रुग्ण सरकारी उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन अघि बढिरहेको समेत जानकारी दिइन्।
“हेटौँडा कपडा उद्योगलाई आयात प्रतिस्थापन, आत्मनिर्भरता विकास र रोजगारी सृजना गर्ने तथा अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउने माध्यमका रूपमा विकास गर्नेगरी सञ्चालन गर्न खोजेका छौँ”, उनले भनिन् ।
नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि कार्यदल गठन भई प्रतिवेदन तयारीको काम भइरहेको उनले बताइन् ।